काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गते बोलाइएको छ । बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमै केन्द्रीय कमिटी बोलाइएको बताए । केन्द्रीय कमिटी बैठकका एजेण्डाका विषयमा समेत सचिवालय बैठकमा छलफल भएको महासचिव पोखरेलले बताए।
उनका अनुसार वर्तमान राजनीतिक स्थिति र संगठनको सुदृढीकरणलगायतका विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ। त्यस्तै मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित गरिएको अभियानका विषयमा पनि बृहत् छलफल गरिने उनले बताए।
त्यस्तै एमालेले आफ्नै पार्टी कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको छ। त्यसका लागि नेता कार्यकर्ताबाट एक सय रुपैयाँ सहयोग अभियाना सञ्चालन गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए। त्यस्तै पार्टीको प्रचार तथा प्रकाशन विभागमा तीन जना मनोनीत भएका छन्। मनोनीत हुनेमा मणिराज बास्तोला, माधव नेपाल र इन्द्रा आचार्य छन्।




















