काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले समकालीन राजनीतिक नेताहरूमा विशिष्ट पहिचान बनाएको बताउनुभएको छ ।
‘संसदमा केपी ओली’ नामक किताब विमोचन गर्दै पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई सर्वाधिक प्रतिभाशाली नेताको रूपमा व्याख्या गर्नुभयो ।
‘यस पुस्तकका नायक केपी शर्मा ओली समकालीन राजनीतिक नेताहरूमा विशिष्ट पहिचान बनाउनुभएको छ। सर्वाधिक प्रतिभाशालीको नेताका रूपमा उच्च स्थान प्राप्त सफल गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँ राजनीतिका साथै कला, साहित्य, धर्म, दर्शन, र विज्ञानका विषयमा पनि गहन ज्ञान भएको नेता हुनुहुन्छ।’
उहाँले केपी शर्मा ओलीलाई प्रेरणा र ज्ञानको स्रोत भएको बताउनुभयो । ‘लामो अनुभवले खारिनुभएको नेता केपी शर्मा ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । केपी शर्मा ओलीले संसदमा गर्नुभएको भाषण राजनीतिक हिसाबले मात्र नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले पनि महत्वपूर्ण छन्,’ उहाँले भन्नुभयो ।
ओलीको भाषणको अभिलेख महत्वपूर्ण रहेको बताउँदै उहाँले किताबमा नेपाली संसदको इतिहास, तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धनमा एमालेले खेलेको भूमिका समेटिएको बताउनुभयो ।




















