काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले करिव ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन् ।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकि रहेका करिव ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका हुन् ।
त्यस क्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि बताए । सरकारले जनयुद्धमा शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपक्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताए ।




















