काठमाडौंं । राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ । फागुन २० गते रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि मतदान जारी रहेको हो ।
देशभरीका सात मतदान केन्द्रमा मतदान जारी रहेको हो । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिचमा प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।
बिहीबार बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म हुने मतदान सकिने बित्तिकै मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ । निर्वाचनको नतिजा मतदान सकिएको ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।
१९ सिटका लागि हुन लागेको निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, वाग्मतीका लागि भुटनदेवी मावि, र प्राविधिक शिक्षालय हेटौँडा, गण्डकीका लागि प्रदेश निर्वाचन कार्यालय पाल्पा, लुम्बिनीका लागि कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय, सुखेर्त र सुदूरपश्चिममा प्रदेशसभा भवन, धनगढीलाई मतदानस्थल तोकेको छ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् ।




















