टक्सार (भोजपुर) । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन्। आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रियसभाको निर्वाचन पश्चात् यस विषयमा छलफल हुने बताएका हुन् ।
“यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ”, सिटौलाले भने, “माघ ११ गतेको निर्वाचनपश्चात् राष्ट्रियसभाले पूर्णता पाउने छ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ ।”
उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरे।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्”, नेता सिटौलाले भने । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उनले जोड दिए। (रासस)




















