काठमाडौं । सत्ता गठवन्धनबाट राष्ट्रियसभामा १० सिट पाएको नेपाली कांग्रेसभित्र आन्तरिक बाँडफाँड भने किचलो देखिएको छ । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले छलफलका लागि आफ्नो समूहको बैठक बोलाएको छ ।
गठबन्धन वैठकपछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही पुगेका थिए । सभापति देउवा संख्या, मापदण्ड, योगदान लगायतका आधारमा उम्मेदवार छान्ने भन्दा पनि आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन मापदण्ड नै कुल्चन देखिएपछि कोइराला–थापा समूह छुट्टै छलफलमा जुटेको बताइएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा प्राथमिकता दिने निर्णय गरेको थियो ।
भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिइने बैठकको निर्णय थियो । अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने पार्टी निर्णय गरेको थियो तर सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर–गगन पक्षको आरोप छ ।
भागवण्डामा सम्माजनक हिस्सेदारी नपाएको गुनासो पनि शेखर–गगन पक्षको छ । चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेपनि सभापति देउवा तीन जना मात्र दिन तयार भएपछि शेखर–गगन समूह असन्तुष्ट बनेको बताइएको छ ।
पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर–गगन विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेका हुन् । छलफलमा नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायत सहभागी रहेको बताइएको छ ।
कांग्रेसले आज नै कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दिउँसो १ बजेको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ ।


















