काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका निर्वाचनमा १९ सिटका लागि बाँडफाँटको टुङ्गो लगाएको हो ।
बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कांग्रेसले १०, नेकपा माओेवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउनेगरि सहमति भएको जानकारी दिएका छन् । लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केहि स्थानका लागि पनि छिटै टुंगो लाग्ने बताएका छन् ।
सिट बाँडफाँटमा सहमति भएसंगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन् ।
कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने सहमति भएको स्रोतको दावी छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने नत्र थप एक मन्त्री चाहिने अडान राखेको छ ।
स्रोतका अनुसार राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको छ । यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको हो ।
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित भएकी थिइन् ।


















