काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अहिलेको सरकार र प्रमुख पार्टीहरुले राम्रो काम गर्न नसकेको गुनासो गर्दै अव कोर्स करेक्सन गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने बताएका छन् ।
देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको भन्दै यादवले अब पछि फर्किएर हेर्ने समय नभएको बताएका छन् । सबैले बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्ने वताउँदै उनले देशको अर्थतन्त्र कसरी मजबुत बनाउने भन्नेतरि ध्यान दिनुपर्ने बताएक छन् ।
डा. यादवले बिपी कोइरालाको समयको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नहुने बताएका छन् । देशमा दुईवटा संविधान सभाबाट जारी भएको संविधानपछि पनि जनताको अवस्थामा देखिनेगरी सुधार हुन नसक्नु चिन्ताको विषय भएको औंल्याए ।
नेपाली राजनीतिले बिपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने वताउँदै उनले बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
उनले बिपीको पालामा जस्तो नेपाली कांग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको कांग्रेसजनमा नभएको टिप्पणी गरेका छन् । ‘गौरव गर्छु कि म त्यो (कांग्रेस) संस्थामा छैन । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बिपीले दिनुभएको थियो र बिपीका जो सहयात्रीहरु थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको कांग्रेसीमा खोज्यौं भने हामी आफैं बुझिहाल्छौं,’ डा. यादवले भने ।
बिपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा. यादवले अब नेपालीहरूमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरेका छन् ।


















