काठमाडौं । नेकपा एमालेले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्याइएकोमा आपत्ति जनाएको छ ।
पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले भारतसँग विभिन्न सम्झौता गर्दा प्रमुख प्रतिपक्षीसँग कुनै सरसल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन ।
भारतीय विदेशमन्त्री एस. जयशंकरको दुई दिने भ्रमणका क्रममा सरकारले विभिन्न सम्झौता र सहमति गरेको थियो ।
संयुक्त आयोगको बैठकबाट भारतले नेपालका परियोजनामा सिधै २० करोड खर्न गर्ने गरी गरेको सहमति गरेको प्रति पोखरेलले असन्तुष्टि व्यक्त गरेका हुन ।
महासचिव पोखरेलले पत्रकारहरुसँग भने, ‘दुई देशको संयुक्त आयोगको बैठकमा के के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्थ्यो ।’
पोखरेलले बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु नहुने भन्दै वैदेशिक सहायता वैदेशिक प्रणालीभित्रै हुनुपर्ने पार्टीको मान्यता रहेको बताएका छन् ।
महासचिव पोखरेलले ‘के के विषयमा सहमति सम्झौता भएका छन् ? तिनलाई स्पष्ट पार्न माग गर्दै प्रतिपक्षीसँग छलफल नगरी चालिने यस्ता कदमले समस्या ल्याउन सक्ने चेतावनी दिएका छन् ।


















