काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा पक्राउ परेकालाई साधारण तारेखमा रिहा गरिएको विरोधमा अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।
चेतन ऐडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएपनि अनेरास्ववियुले विरोध गर्दै काठमाडौंको लैनचौर क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले अदालतको आदेशको कडा विरोध जनाएका छन् । उनीहरुले चेतन ऐडीलाई न्याय दे, पैसामा विक्ने न्यायधीशहरु मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थियो ।
प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक वडालले न्यायलय सेटिङमा चल्ने अवस्था भएकाले त्यसको विरोधमा प्रदर्शन गरिएको बताएका छन् । चेतन ऐडीको हत्या आरोपीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्नेमा सर्वोच्च आदेश राजनीतिक आवरणमा आएको उनले आरोप लगाए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा क्रममा मंसिर ४ गते मतदानका दिन बाजुरामा भएको झडपमा ऐडीको निधन भएको थियो । सर्वोच्च अदालतले मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था देखिन नआएको भन्दै आरोपीतहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।



















