काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र गठवन्धनले टिआरसी विधेयक र विभिन्न समयमा भएका काण्डबाट जोगिन एमालेको साथ खोजेको आरोप लगाएका छन् ।
एमालेको साथबिना असुरक्षित महसुस गरेकाले सत्ता गठबन्धनले सहमतिको नयाँ कार्ड फ्याकेको वताउँदै भनेका छन् – ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।’, उनले अगाडि भनेका छन्, ‘अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस्रु यदि यसो होइन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भइगयो। किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’
संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लिए झनै दुर्भाग्यपूर्ण हुने उनले बताएका छन् ।
‘टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्रै विधेयक आउनु पर्ने कुरामा स्पष्ट हुनु जरुरी छ’, उनले भनेका छन्।
आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले सत्ता गठबन्धनसँग सीट मागेको समाचार आइरहेका बेला नेता कोइरालाले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।
नेता कोइरालाले हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेको बताएका छन् ।



















