काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका छन् ।
काठमाडौंमा भ्रातृसंस्थाका नेताहरूको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दुखद भएको बताए ।
बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव राखेको सुनाएका थिए ।
प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै कुर्सी प्राप्तिका लागि मुलुकमा प्रमुख प्रतिपक्षी नै नरहने अवस्था सिर्जना हुन खोजेको भन्दै महरले चिन्ता व्यक्त गरेका छन् ।
महरले अहिले नेताहरूमा दोधारे चरित्र देखिन खोजेको आरोप लगाए । ‘विकास, समृद्धि र सुशासनका लागि नेताहरू एक ठाउँमा आउनु स्वागतयोग्य कुरा हो । तर, विकास र समृद्धिमा सधैँ नेताहरूमा मतभेद पाइन्छ । कुर्सी र सत्ता प्राप्तिका लागि भने जस्तो सुकै सम्झौता गर्न राजनीतिक दल पछि हट्दैनन्। यो लोकतन्त्रका लागि लज्जाको विषय हो । जनभावना विपरीतको विषय हो । अझभन्दा यो दूरासययुत्त विषय हो,’ महरले भने।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेताहरूको चर्को आलोचना भइरहेको हो ।
चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको अश्वभाविक दौडधुप बढ्नु र सत्ता गठबन्धनका नेताहरूले पनि अनावश्यक छलफल गर्नु लोकतन्त्रको मर्म विपरीत भएको महरले बताए ।
‘एमालेको प्रस्तावमा सत्ता गठबन्धनले अनावश्यक छलफललाई सघन बनाउनुको कारण के होला ? आरामदायी बहुमत रहेको गठबन्धन लोकतन्त्रको मर्म अनुरूप चल्नुपर्छ,’ महर भन्छन् ।
फागुन २० गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुने छ । एक सिटमा भने राष्ट्रपतिले मनोनयन गर्ने छन् । सत्ता गठबन्धन एक रहेसम्म एमालेले अहिले रिक्त हुन लागेको सिटमा एक पद पनि जित्न सक्ने अवस्था छैन । त्यसैले एमालेले दलहरूलाई विभिन्न प्रस्ताव राखेको छ ।



















