काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त हुने भएका छन् । आज बसेको न्याय सेवा आयोगको बैठकले न्यायपरिषदका सचिव ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको हो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो ।
त्यस्तै न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ ।
यस्तै न्याय सेवा आयोगले न्याय सेवाका ५ जना सहसचिवहरुको सरुवा पनि गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् ।
न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।
फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।


















