काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । उनले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता हुन् ।
कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पु¥याउने कुशित मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख गरेका छन् ।
कान्तिपुर र इकान्तिपुरबाट आफूलाई जोडेर प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानूनअनुसार सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उनको माग छ ।
रिट दर्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’




















