काठमाडौं । सरकारले बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरुप १०-१० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहीको परिवारलाई राहतस्वरुप जनही दस लाख दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
त्यस्तै बैठकले घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले गर्ने निर्णय गरेको छ । उपचारमा लाग्ने सम्पूर्ण खर्च गृह मन्त्रालय र अर्थ मन्त्रालयले निकासा गर्ने उनले बताइन् । घटनामा दर्जन जनाभन्दा बढी घाइते भएका थिए ।
त्यस्तै सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएको छ । प्रवक्ता शर्माका अनुसार गृह मन्त्रालयले बनाएको समितले निष्पक्ष छानबिन गर्ने र दोषीलाई कारबाही गरिने बताइन्। उनले यसखालका घटना घटना नदिन सम्बन्धित निकायलाई संयमता अपनाउन निर्देशन गरिएको बताइन्। त्यस्तै मृतक परिवारप्रति सरकारले संवेदनासमेत प्रकट गरेको छ ।


















