काठमाडौं । भारतीय विदेश मंत्री एस जयशंकरले जनवरी ४–५ मा नेपाल भ्रमणमा आउँदै छन ।
उनी संगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मंत्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् ।
भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।
विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्री एनपी साउदसंग भेटघाटसँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमंत्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।
परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसंग सामूहिक भेटघाट हुनेछ ।


















