काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेअनुसार आजबाट वैठक शुरु हुन लागेको हो ।
बैठकमा सरकारमा सहभागी भएका पार्टीका मन्त्रीहरुको कार्यसम्पादनबारे समीक्षा हुने बताइएको छ । सरकार गठनको एक वर्षमा कांग्रेसका मन्त्रीले १० महिना सरकारमा बिताए पनि प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै आलोचना बढेपछि केन्द्रीय समिति बैठकमा सदस्यहरू समक्ष उपलब्धी प्रस्तुत गर्ने तयारी गरेको एक नेताले बताएका छन् ।
गठबन्धनको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटी अनुसारको काम नभएको गुनासो गरिरहेको बेला कांग्रेसका मन्त्रीहरुले भने आफ्नो कामप्रति सन्तुष्टि जनाउँदै आएका छन् ।
त्यस्तै बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका बिषयमा छलफल हुनेछ। वैठकमा राष्ट्रिय मेलमिलाप दिवस कसरी मनाउने र महासमिति बैठकको तयारीको विषयमा पनि छलफल र निर्णय गर्ने नेताहरुले बताएका छन् ।