काठमाडौं । सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको समाजवादी मोर्चाको वैठक आज विहान बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकमा यसबीचमा गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा कस्ता कार्यक्रम अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । आज साँझ पुनः बस्ने बैठकले मोर्चाका साझा कार्यक्रमहरू तयार गर्ने बताइएको छ ।
यता मोर्चामा रहेको नेकपाले भने सरकार र मोर्चासँग असन्तुष्टि व्यक्त गरेको छ । सरकारसँग तीन वुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको पार्टीका नेताहरुलाई अदालतबाट पक्राउ पूर्जी जारी गरेपछि विप्लव असन्तुष्ट बनेका हुन ।
बैठकमा ठोस के विषयमा छलफल भयो भन्ने कुरा बाहिर नआए पछि विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराएको बताएका छन् ।
सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाउँदै उनले यो विषयमा साँझ छलफल हुने बताएका छन् । पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै उनले दोहोरो चरित्र नचल्ने चेतावनी दिएका छन् ।


















