पोखरा । २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको राजा वीरेन्द्रको सालिक पुन:स्थापना गरिएको छ ।
आइतबार मध्यरातमा हजारौं जनताको सहभागितामा राजा वीरेन्द्रको सालिक पुन:स्थापना गरिएको हो । हिजो साँझसम्म केही नभएको ठाउँमा विहानै सालिक देख्दा प्रभातकालमा घुम्न निस्केका धेरै चकित परेको बताएका छन् ।
सालिक पुनःनिर्माण गर्न पोखराका भूतपूर्व सैनिक, समाजसेवी, स्थानीय वुद्धिजीजी, महिला, विद्यार्थी, ब्यापारी, उद्योगपति र अन्य देशभक्तहरुको योगदान अतुलनीय रहेको स्थानीयले बताएका छन् । करिब २५ लाख खर्चमा राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको शालिक पुनः स्थापनामा संलग्न एक युवकले जानकारी दिएका छन् ।
समय बलवान् हुन्छ र जनताको साहस, उत्साह र एकताले कुनै पनि अभियान सफल हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गरेर पोखराका साहसी जनताले राष्ट्रमा सुखद सन्देश प्रवाह गरेको समाजसेवी वलराम हमाल ठकुरीले बताएका छन् ।
पोखरा–१०, रामबजारको चोकमा २०६९ सालमा राजा वीरेन्द्रको सालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामकरण गरिएको थियो ।
राजा वीरेन्द्रप्रतिको आस्थाका कारण स्थानीयले पुनः सालिक ठड्याएको हमालले बताएका छन् ।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा सालिक स्थापना गरिएको थियो । क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए ।
पोखरा–९, पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक पनि आन्दोलनका क्रममा तोडफोड गरिएको थियो । पछि त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखिएको थियो ।
सो ठाउँमा स्थानीयले पृथ्वीनारायणकै सालिक राखेका थिए । तर पोखरा महानगरले हटाइदिएको थियो । पृथ्वीनारायणको सालिक हटाएपछि केही समय आन्दोलन पनि भएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका– महेन्द्र पुलमा पृथ्वी नागरिक समाज र पोखरेलीको जनसभागिताबाट निर्मित सहिद भिमसेन दाहालको शालिक हटाएर पोखरा महानगरपालिकाले अन्तर्राष्ट्रिय झण्डा पार्क बनाएपछि स्थानीयहरुले विरोध गर्दै आएका छन् ।
जनआन्दोलन ०६२/६३ का प्रथम सहिद दाहालको शालिक हटाएर महेन्द्रपुलमा विदेशी झण्डा पार्क बनाउनु गलत भएको स्थानीयले बताएका छन् । अन्तर्राष्ट्रिय झण्डा पार्क नै बनाउनु परे पनि अन्यत्र बनाउन सकिन्थ्यो । तर सहिदको सालिक नै हटाएर किन त्यही पार्क बनाउनु पर्यो भन्ने पोखरेली जनताको प्रश्न छ । स्थानीयले सहिद दाहालको सालिक सोही ठाउँमा पुनस्र्थापनाको माग पनि गरेका छन् ।