पोखरा । पोखरा महानगरपालिका– महेन्द्र पुलमा पृथ्वी नागरिक समाज र पोखरेलीको जनसभागिताबाट निर्मित सहिद भिमसेन दाहालको शालिक बनाइएको थियो । दाहालको सालिक त्यहाँबाट हटाएर अन्तर्राष्ट्रिय झण्डा पार्क बनाएपछि स्थानीयहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यप्रति आक्रोश पोखेका छन् ।
स्थानीयहरुले विदेशीको मान गर्न (खुशी पार्न) सहिद दाहालको अपमान गरेको भन्दै मेयर आचार्यप्रति रोष व्यक्त गरेका छन् । समाजसेवी वलराम हमाल ठकुरीले सामाजिक सञ्जालमा सहिद दाहालको सालिकको फोटो सेयर गर्दै लेखेका छन् “पोखरा महानगरपालिका– महेन्द्र पुलमा पृथ्वी नागरिक समाज र पोखरेलीको जनसभागिताबाट निर्मित सहिद भिमसेन दाहालको शालिक पो,म,न,पा,का मेयर धनराज आचार्यले आफ्नो निजि स्वार्थमा मिल्काई अन्तर्राष्ट्रिय झन्डापार्क बनाएका छन् । यस्ता मेयरलाई हाम्रो नेपालमा कार्यवाही गर्ने कानुन छ कि छैन ? राय पाऔ ।”
हमालको स्टाटर्समा धेरैले प्रक्रिया जनाएका छन् । धनबहादुर हमालले लेखेका छन् –“पोख्रेली नागरिकको लगानिलाई लात हानेर सहिदको शालिकलाई भत्काउँदै बिदेशीहरुको झण्डापार्क बनाउने अधिकार त्यो मेयरलाई कसले दियो ? कतै त्यो ठाउँपनि यस्तै ‘दलाल’ मार्फत भित्री रुपमा किनबेच हुने त होइन ?”
त्यस्तै दुर्गा रानाले लेखेकी छिन् “पोखरा मेयरसाबले शहीदहरूको अपमान गर्नु भएको छ । यहाँ झण्डा पार्कको जरूरत छैन । बरु ठाउँ ठाउँमा सडक समस्या, पानी फुटेको छ, फोहोर मैलो उठेको छैन, कुलोनाला अव्यवस्थित छ । मेयरसाबको बारे लेख्दा खबरदारी गर्दा उहाँको भाइले सबैलाई धम्की पनि दिने गरेको छ । एउटा जनप्रतिनिधि, जनताको प्रतिनिधि जनताको सेवाको लागि हो कामै नगरेर करौडौंको खाजा खाने र उहाँको भाइ सबैलाई धम्की दिने यो त भएन नि !??”
असिल कुमार शाहीले लेखेका छन् – “कोही मेयर भन्छ– पोखरा स्मार्ट सिटि बनाउने हो, सम्पूर्ण सालिक जामुनेबोटमा स्थान्तरण गर्ने प्रतिबद्धता गर्छन्, कोही सालिक बिबादास्पद चोकमा राख्न राज्यको ढुकुटी प्रयोग गर्छन्, सहिदको सम्मान गर्न नसक्नेले सुशासन दिन्छ भन्नू हामी नै मूर्ख भै सकेको छौ, यो परिचालित सरकारको घोर भत्सर्ना गर्नु पर्छ । जागौ नेपाली ।”
जनआन्दोलन ०६२/६३ का प्रथम सहिद भिमसेन दाहालको शालिक हटाएर महेन्द्रपुलमा विदेशी झण्डा पार्क बनाएपछि स्थानीयले विरोध गरेका हुन । अन्तर्राष्ट्रिय झण्डा पार्क नै बनाउनु परे पनि अन्यत्र बनाउन सकिन्थ्यो । तर सहिदको सालिक नै हटाएर किन त्यही पार्क बनाउनु पर्यो भन्ने प्रश्न पोखरेलीहरुको छ ।
बनेपा–४ काभ्रेपलाञ्चोकको दाहाल परिवार तत्कालीन समयमा पोखरा बस्दै आएको थियो । दोस्रो जनआन्दोलन चलिरहँदा वि.सं २०६२ चैत २६ गते महेन्द्रपुल चोक नजिकै आन्दोलनमा सहभागी उनी सेनाको गोली लागेर भुइँमा ढलेका थिए । उनले घटनास्थलमै शाहदत प्राप्त गरेपछि त्यतिबेला आन्दालनले चर्को रूप लिएको थियो ।
दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति दाहालले परिवर्तनका पक्षमा आहुति दिए । उनीहरुजस्ता सहिदको कदर गर्दै राज्यले उचित सम्मान गर्नु त कता हो कता, जनतास्तरबाट बनाएको सालिक समेत हटाएर सहिदको अपमान गरिएको स्थानीयले वुद्धिजीवीले आरोप लगाएका छन् ।
सवैभन्दा बढी विदेश भ्रमणमा जाने नेताका रुपमा चिनिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै पार्टीबाट मेयरमा निर्वाचित आचार्यले अध्यक्ष नेपालकै इशारामा विदेशी झण्डापार्क बनाएको आशंका स्थानीयको छ । स्थानीयले सहिद दाहालको सालिक सोही ठाउँमा पुनस्र्थापनाको माग पनि गरेका छन् ।