काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत् विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेता महरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनताको म्यान्डेटबाट चुनिएर संसद्मा गएका नेता र मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए ।
‘सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो । वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनु भएको छ । यो स्वीकार्य हुँदैन,’ उनले भने । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक केही मन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझैँ गति लिन नसकेको महरको टिप्पणी छ । ‘सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो । त्यो हुन सकेको छैन । युवाहरूमा चरम निराशा बढ्दो छ । दिनहुँ एयरपोर्टमा बिदेसिने युवाको लर्को थपिँदो छ । सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ’, उनले भने ।
नेपाली कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बेला आइसकेको उनले औंल्याए ।
अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उनको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताए ।
‘उहाँले प्रधानमन्त्रीका रूपमा बाहिरिँदा एक कमण्डलु । एक छाता र बैसाखी बोकेर बाहिरिएको इतिहास हामीसामू छ। राजनीति जनताका लागि गर्ने हो । अहिलेका राजनीतिज्ञले किशुनजीको यो आदर्शबाट पाठ सिक्नुपर्छ,’ उनले भने ।
नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं. १९८१ सालमा जन्मिएका थिए भने उनको २०६७ निधन भएको थियो ।
युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसद्को पहिलो सभामुख चुनिएका थिए । उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुन:स्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एकवर्षमै संविधान बनाउन सफल भएका थिए ।
वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए ।
२०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उनी पर्सा एकबाट विजयी भई छोटो समय प्रधानमन्त्री भएका थिए ।



















