काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गर्नुभएको छ ।
संसदको सुनुवाई समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई नियुक्त गर्नुभएको हो ।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सारङ्गा श्रेष्ठ, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।
बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिले सिफारिस भएका ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो । पोखरेल र ढकाल कानुनी व्यवसायी हुन् भने अन्य चारजना उच्च अदालतका न्यायाधीश हुन् ।


















