काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडक आन्दोलन गर्ने भएको छ । मंगलबार बिहान जारी केन्द्रीय समितिको बैठकको बीचमा बसेको पदाधिकारीहरुको बैठकले फागुनबाट आन्दोलनमा जाने निर्णय गरेको बताइएको छ ।
वैठकले तत्काल केन्द्र र प्रदेश सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ ।
पदाधिकारी बैठकले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, समान विचार भएकाहरूसँग एकता, सहकार्य गर्ने, हिन्दुराष्ट्र पुनर्स्थापना र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
राप्रपा पुस र माघमा आन्दोलनको आन्तरिक तयारी गर्ने र फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने निर्णय भएको उनले जानकारी दिएका छन् । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपुयक्त हुनेमा नेताहरुले जोड दिएका छन् ।



















