काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भईसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् ।
एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताएका छन् ।
महासचिव पोखरेलले अहिले कै संविधान अनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउदै जनताले नीतिगत र दुरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने बताएका छन् ।
महासचिव पोखरेलले कोशी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पु¥याएर भएकाले यसबाट एमाले पछि नहट्ने स्पष्ट पारेका छन् ।
एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले हिमाल, पहाड र तराई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरु आयोजना गरिने जानकारी दिएका छन् ।
उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौँ । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’
महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए । यात्राका क्रममा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको उनले बताएका छन् ।
उनले पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको बताएका छन् । एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएकाले पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको स्पष्ट पारेका छन् ।
नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ ।


















