काठमाडौँ । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।
नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । पुसमा बस्ने भनिएको बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिएका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनको कारणले महासमिति बैठक सारेको उनले बताएका छन् ।
यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो ।
कांग्रेसको महासमिति बैठकको मिति सरेको यो चौथो पटक हो । यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।
त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।
राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले दल दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको विश्वकर्माले बताएका छन् ।



















