विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केही बेरअघि हलेसीबाट पक्राउ गरिएको हो ।
एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनले केही दिनअघि एमालेका लागि चिहान तयार पारेको हिंसात्मक अभिव्यक्ति दिएका थिए । माओवादीका पूर्वनेता किराँती पूर्वमन्त्रीसमेत हुन् ।
खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरू राजेश राई, विजय राई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिएका छन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले पनि नेता किराती पक्राउ परेको पुष्टि गरेका छन् । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ ।




















