काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आगामी माघ ११ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम अनुसार पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।
प्रकाशित मतदाता नामावलीमाथी दाबी विरोध लगायतका काम त्यसै दिनबाट सुरु भएर पुस २२ गते सम्पन्न हुने, त्यसै दिन अन्तिम मतदाता नामावलीसमेत प्रकाशन हुने आयोगले जनाएको छ । अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने बताइएको छ ।
पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ भने उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ । मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ ।
उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गतेका लािग तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली पुस २७ गते दुई बजे प्रकाशन गर्ने कार्य आयोगले जनाएको छ ।
निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने र मतदान कार्य माघ ११ गते बिहान नौ बजेदेखि दिउसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगले जनाएको छ । मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना कार्य हुने आयोगको तालिका छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा तीनमा भएको व्यवस्था अनुसार सोही दफाको उपदफा एकको प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।





















