दुबई । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे दुबईमा जारी सम्मेलनमा नेपालबारे चर्चा सुरु भएको हो। यस पटकको कोप सम्मेलनमा नेपालले महत्त्वपूर्ण स्थान पाएपछि सरकार पनि हर्षित देखिएको छ।
सम्मेलनको दोस्रो दिन शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो सम्बोधनको क्रममा नेपालको नाम प्राथमिकताका साथ उच्चारण गरे । जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको समस्याबारे चर्चा भइरहँदा सम्मेलनमा नेपालले भोगिरहेको समस्याबारे चर्चा हुनुले पनि विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको देखिन्छ।
केही समयपहिले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको भ्रमण गरेका थिए। त्यस क्रममा उनले नेपालका हिमालहरू काला हुँदै गएको र पृथ्वीमा बढेको तापक्रमका कारण हिँउ पग्लिरहेको दृश्य देखेको बताएका थिए। जलवायु शिखर सम्मेलनमा गुटेरेसले नेपालको नाम लिँदै जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको समस्याबारे चर्चा गरे। साथै उनले विकसित देशले उत्सर्जन गरिरहेको कार्बनका कारण अल्पविकसित देशहरूले भोग्नु परिरहेको समस्याबारे पनि गम्भीर हुनुपर्ने बताए । नेपाललगायत विश्वका अन्य देशहरूमा रहेका हिमालहरू पग्लिरहेको भन्दै उनले अब हिमालहरूको संरक्षणमा विश्वको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

























