तम्घास । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादीलाई जुवाको खालबाट च्याखे नथाप्न चेतावनी दिएका छन् ।
शनिबार नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले राजावादीलाई जुवाको खालबाट नभएर सिधै आउन चेतावनी दिएका छन् ।
आँट भए पूर्व राजालाई निर्वाचनको माध्यमबाट बहुमत ल्याएर आउन र कांग्रेस एक्लै भिड्न तयार रहेको उनले चेतावनी दिए ।
राजा फर्काउनुपर्छ भनेर कसैले भन्छ भने कांग्रेस कार्यकर्ताले त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसले शान्ति र संविधानको अगुवाइ गरेको बताउँदै उनले कांग्रेसलाई पछाडि हट्ने छुट नभएको बताए । वर्तमान व्यवस्था उल्ट्याउने कसैले सपना देखेको भए त्यो सम्भावना नरहेको उनले बताए ।
साथै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम रहेको समेत बताए ।




















