काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार राति सुतिरहेका महिलाहरूलाई ओछ्यानबाट निकाल्ने घटनामा आफूहरूको कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै मध्यरात पार्टी प्लासेलबाट महिलाहरुलाई निकालेको अमानवीय र अशोभनीय ज्यादतीको भिडियो सामाजिक सञ्जालमा आइरहेको प्रति आफूहरुको गम्भीर ध्यानाकर्ण भएको जनाउँदै त्यस्तो मानवता विरोधी कार्यमा अनेरास्वयिुको कुनै संलग्नता नरहेको बताएका हुन् ।
उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोही भए पनि कानून बमोजिम कारबाही गर्न अध्यक्ष वडालले माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– “लोकतान्त्रिक व्यवस्थामा सबैलाई आफ्नो कुरा राख्ने, बोल्नै अधिकार हुन्छ । अनेरास्ववियु कुनै पनि अराजकतालाई समर्थन नगरी केबल जनताको आवाज बुलन्द गर्न मात्र सडकमा आएको हो ।”
सरकारको अकर्मण्यता भण्डाफोर गर्न र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले मंसिर ७ मा आयोजना गरिएको वृहत् प्रदर्शनलाई असफल बनाउन गरिने यस्ता घुसपैठ तथा षडयन्त्रप्रति सजग रही व्यापक सहभागिता जनाउन उनले आह्वान गरेका छन् ।





















