काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको उल्लेख गरेका छन् । “यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ”, सन्देशमा भनिएको छ ।
सन्देशमा प्रम दाहालले यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।
यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताएका छन् ।
यसैगरी, सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।




















