काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गरे । उनले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।




















