जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको अधिकारका निम्ति संघीय सरकारविरुद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने चेतावनी दिएका छन् ।
संघ र प्रदेशबीच तानातानमा परेको प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनलगायत मुद्दामा मधेश सरकारले संघ सरकारलाई ‘अन्तिम पटक’ अल्टिमेटम दिँदै आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । मुख्यमन्त्री यादवले सर्वदलीय बैठक डाकेर यस्तो निर्णय गराएका हुन् ।
जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बस्ने पनि निर्णय गरेको छ ।
प्रदेशका मन्त्री र राजनीतिक दलका नेताहरूको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकले आगामी बिहीबार यस मामिलामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने सहमतिसमेत गरेको छ ।
सर्वदलीय बैठकमा जसपाका तर्फबाट मुख्यमन्त्री यादव, कांग्रेसका प्रदेश अध्यक्ष एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, लोसपाकी प्रदेश सांसद रानी शर्मा तिवारी, नेकपा एसका संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने, जनमत पार्टीका प्रवक्ता एवं श्रम तथा यातायातमन्त्री चन्दन सिंह, एमालेका प्रमुख सचेतक लखन दासलगायतको उपस्थिति थियो । सर्वदलीय बैठकले प्रधानमन्त्री दाहालसमक्ष संघीय सरकारले रोकिराखेका प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटन, गुठीको जग्गा र वन क्षेत्रलाई प्रदेश सरकारको अधिकार क्षेत्रमा ल्याउनुपर्ने माग राख्ने जनाएको छ ।




















