काठमाडौं । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने भएको छ ।
समितिका सभापति रामहरि खतिवडाको टोलीमा ९ सदस्यीय टोली जाने तयारी भएको छ । सभामुख देवराज घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।
सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय लिएका थिए ।
सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका थिए ।
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिए । अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ।
सभापति खतिवडाले जहाज तथा यातायात खर्चसमेत व्यक्तिगत तवरबाटै गर्ने जानकारी दिए ।




















