काठमाडौँ I चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रवार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् ।
आफ्नो सन्देशमा उहाँले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठुलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनः निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गरेका छन् ।
यसै गरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि आफ्ना नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाउनुभएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ । (रासस)




















