विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारमा नेकपा (एमाले)लाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको बताएका छन्।
विराटनगरमा शनिबार पत्रकारहरूसँग छलफल गर्दै उनले परिवर्तनकारी शक्तिहरू एकजुट भएर प्रदेशको समृद्धिमा केन्द्रित हुनुपर्ने बताए।
गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
शपथग्रहणलगत्तै उनले असोज २८ गते विद्रोही कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर रानामगरलाई मन्त्री नियुक्त गरे । शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको छ। मन्त्री रानाले शनिबार पदबाट राजीनामा दिएका छन् ।
संविधान जारी गर्दादेखि जनआन्दोलन सफल बनाउँदा दलहरूबीचमा भएको सहकार्यलाई मुख्यमन्त्री कार्कीले स्मरण गराएका छन् ।
उनले एमाले सरकारमा रहुन्जेल माओवादी र एकीकृत समाजवादी आउन नचाहने तथा माओवादी सरकारमा आयो भने हामी निस्कन्छौं भनेर एमालेले भन्ने गरेको अवस्थालाई वार्ता र ‘टेबुल टक’ गरेर मिलाएको समेत दाबी गरे। उनले सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गरेका छन् ।
कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने तथा मुख्यमन्त्री भइसकेपछि विश्वासको मत दिने सबै प्रदेशसभा सदस्यप्रति आभार प्रकट गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने आफूले सरकारमा आउन आह्वान गरिनसकेको पनि उल्लेख गरे।
प्रदेशमा भौतिक विकास, स्वास्थ्य, शिक्षा र कृषिमा कसरी फड्को मार्न सकिन्छ भनेर सरकार लागि परेको उनले बताए ।




















