विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।
नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमालेले भने सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।




















