काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धीमूलक नभएको बताएका छन् ।
सरकारले अघिल्लो अधिवेशनमा पेश गरिएको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा नल्याउँदा संसदको यो अधिवेशन फलदायी हुन नसकेको उनको भनाइ थियो ।
शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुले आफैँले प्रस्तुत गरेको विधेयकसमेत अपवाद बाहेक चासो समेत नलिएको गुनासो समेत गरे ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अति आवश्यक विधेयक समेत सरकारले संसदमा नल्याएको उनले स्मरण गराए । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरु ल्याउनका लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको बताए ।
सरकारले विधेयकहरु ल्याउन नसकेका कारण संसद प्रभावकारी हुन नसकेको उनको दाबी थियो । अध्यक्ष तिमिल्सिनाले सरकारले विजनेश नदिएपछि आफूले पटकपटक राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपरेको बताए ।
अध्यक्ष तिमिल्सिनाले सरकारले गैरसरकारी विधेयकलाई संसदमा प्रोत्साहित गर्न नचाहेको बताए । गैरसरकार विधेयक सरकारकै अंग बन्ने भए पनि त्यसलाई संसदबाट पास गराउन अनिच्छुक देखिएको बताए ।




















