विराटनगर । केदार कार्की नेतृत्वको कोसी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । मुख्यमन्त्री कार्कीले कांग्रेसबाट पनि थप एकजनालाई नियुक्त गर्न खोजेका छन्।
उनले कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सहयोग गरेका रामकुमार खत्रीलाई मन्त्री बनाउन खोजेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट एक–एक जना सहभागी गराउने निर्णय भइसकेको छ।
नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको बैठकपछि आजै मन्त्रिपरिषद् विस्तार हुने बताए। उनका अनुसार नयाँ मन्त्रीको शपथ ग्रहण पनि आजै गराउने तयारी छ ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।
तर संकटमा आफूलाई साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीको अडान छ । गठबन्धन दलका नेतासँगको छलफलमा मुख्यमन्त्री कार्कीले ढिलोचाँडो एमाले आफैं बाहिरिने भएको कारण बर्खास्त नगर्ने बताएका थिए ।




















