
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा कार्तिक १० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधान सेनापति चीनमा रहँदा बेइजिङमा आयोजित Beijing Xiangshan Forum को समुद्घाटन समारोहमा सहभागी भएका थिए । त्यसैगरी उनले चीन भ्रमणको क्रममा चिनियाँ जनमुक्ति सेनाको CMC का Joint Chief of Staff Gen. Liu Zhenli सँग शिष्टाचार भेटघाट गर्नुको साथै Xi’an City, Shanghai तथा Guangzhou मा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरुको भ्रमण समेत गरेका थिए । भ्रमणको क्रममा प्रधान सेनापतिको सम्मानमा चीनिया जनमुक्ति सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

बेइजिङमा रहँदा प्रधान सेनापति शर्माको सम्मानमा चीनका लागि नेपालका महामहिम राजदूतले आयोजना गरेको स्वागत समारोहमा सरिक भएका थिए । भ्रमणको क्रममा उनले ग्रेटवाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए ।





















