काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका छन् ।
बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले अहिलेको व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठीक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिएको भन्दै संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका हुन ।
उनले संविधान असफल भए मुलुक अप्ठेरोमा पर्न सक्ने भएकाले संविधान निर्माण गर्नेहरु एक ठाउँमा उभिन जरुरी रहेको बताएका छन् । उनले सदनलाई प्रभावकारी बनाए सरकार प्रभावकारी हुने भएकाले संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्नेमा जोड दिएका छन् ।
संसदमार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसद्ले बनाएका कानुनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको उनले बताए । लेखकले संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न कांग्रेस प्रतिबद्ध रहेको र सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहको धारणा राखेका छन् ।
उनले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गर्दै हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् ।




















