पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुँदैन भने काँग्रेसले अपजसको भारी बोक्न नसक्ने बताएका छन् ।
नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने भन्दै त्यसो नभए काँग्रेसले अपजसको भारी बोकी रहन आवश्यक नरहेको बताए ।
उनले सरकारले जनमैत्री काम नगरे काँग्रेस गठबन्धनमा बसी रहनुको औचित्य समेत नरहेको स्पष्ट पारे ।
महरले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु अहिलेको आवश्यक रहेको बताए । फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको समेत बताए ।
नेता महरले काँग्रेसमा पुस्तान्तरण र रूपान्तरणका लागि नेतृत्व सचेत हुनुपर्ने बेला आएको समेत बताए । उनले २० औं वर्षैसम्म पनि आफ्नै सम्पति जस्तै गरी एउटै व्यक्तिले जिम्मेवारी लिन नहुने भन्दै पुस्तान्तरण र रूपान्तरणका ठाउँ खाली गरिनुपर्ने धारणा व्यक्त गरे । नेता महरले समय सान्दर्भिक र प्रवृद्धिमैत्री बनाउन सकेमात्र काँग्रेसलाई बलियो बनाउन सकिने बताए ।
नेता महरले जनताको जीवनस्तर माथि उकास्ने कुरामा पार्टी गम्भीर बन्नुपर्ने बताए । उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले समूह बन्नु स्वाभाविक रहेको पनि बताए । निर्वाचनको परिणामलाई लिएर एक आपसमा तिक्ता साध्नु गलत रहेको उनले बताए । नेता महरले नीति अधिवेशनबाट काँग्रेसलाई थप बलियो र सशक्त बनाएर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।
काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले विगतबाट पाठ सिकेर काँग्रेस अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।
उनले अहिले कम्युनिष्ट नेताहरु तुष्टीकरणमा लागेकाले देशमा भ्रष्टचार, अनियमिता मौलाउँदै गएको समेत बताए ।
काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले उच्च मनोबलका साथ अगाडि बढ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
जनताकै बिचबाट स्थापित पार्टी भएकाले पनि काँग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने सभापति श्रेष्ठले दावी गरे । अनुशासन नभएकाले राजनीतिक अराजकता सिर्जना भएकाले त्यसतर्फ सचेत बन्न काँग्रेसका नेता कार्यकर्तालाई उनले आग्रह समेत गरे ।
काँग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले पार्टी भित्र तिक्ता, कुण्ठ र आक्रोश पैदा हुँदै गएकाले नयाँ – नयाँ पार्टीहरुको उदय भएको बताउए । उनले काँग्रेस पुरानो र विचारले उत्कृष्ट पार्टी भएकाले त्यस्ता तिक्ता, कुण्ठ र आक्रोश पैदा हुन नहुने धारणा व्यक्त गरे ।
देशको समृद्धि र विकास काँग्रेसले नै गर्ने भएकाले पार्टीलाई बलियो बनाएर लैजानुपर्ने उनले बताए । पूर्व मन्त्री समेत रहेका रानाले आफु मन्त्रीको जिम्मेवारी पाएको छोटो समयमै पाल्पाको विकासमा उल्लेखी काम गर्न सफल भएको बताए ।




















