काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले नेपालले शान्ति प्रक्रियालाई सफलतासाथ अघि बढाएको बताए । उनले आफ्नो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताए ।
उनले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवर्द्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गरे । सो अवसरमा उनले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसासमेत गरे ।
प्रधानमन्त्री दाहालले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताए ।
सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवर्द्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो । उनले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताए ।
त्यसैगरी उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसको प्रतिबद्धताको प्रशंसा गरे ।
विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री दाहालको जोड थियो ।




















