काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका खोजेपछि महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय कानुन,पीडितको भावना र अदालतको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्ने बताएका हुन्।
भेटमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताएका थिए। जवाफमा महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका हुन् ।
उनले विश्व शान्ति स्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धिहरू आश्चर्यजनक रहेको उनको भनाइ छ।
यसअघि महासचिव गुटेरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच विश्व शान्ति, नेपालको शान्तिप्रक्रिया,जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक सहितको रात्रिभोजको आयोजना गरेका छन् । प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौंका आएका हुन् ।




















