काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आइतबार अमेरिका भ्रमणमा जाने भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै हप्ता दिनका लागि अमेरिका भ्रमणमा जान लागेका हुन्।
अमेरिकी सरकारको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ अन्तिम साता अमेरिका गएका थिए ।
परराष्ट्र मन्त्रालयले अमेरिकामा रहँदा मन्त्री साउदको कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्री साउदले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
मन्त्री साउदले कात्तिक १३ गते वाशिंगटन डीसीमा विदेशमन्त्री ब्लिंकनसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै मन्त्री साउदले युएसएआइडीकी प्रमुख सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।
मन्त्री साउदले अमेरिका भ्रमणका क्रममा युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस र नेपाली-अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया गर्नेछन्। नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्षहरू रहनेछन् ।
मन्त्री साउद कात्तिक १९ गते स्वदेश फर्किनेछन् ।




















