काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गरेका छन्।
दसैं, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातिय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने नेता कोइरालाले जिकिर गरे।
उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेकाले राजनैतिक दलका नेताहरु संवेदनशिल र सचेत हुनुपर्ने जिकिर गरे। उनले जातीय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातीय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गरे ।
प्रधानमन्त्री दाहालले जनजाती दिवसका अवसरमा अब आउने निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई बहुमत दिलाए जातिय राज्य दिन सकिने बताएका थिए । प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो।
नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समिकरण बनाइएको बताए । उनले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताउँदै कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समिकरण अनुसार राजनैतिक गतिविधि बढ्ने जानकारी दिए ।




















