रुकुम । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरूबीचको एकताको अभियान पनि रहेको बताएका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूका बीच एकता आवश्यक रहेको बताए ।
केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष टिक्ने दाबी गरे। उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौं। यो सरकार पाँच वर्ष नै रहन्छ। कोसी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो। अन्ततः कोसीमा पनि गठबन्धकै सरकार बन्छ।’
सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैं अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए।




















