काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातको टीका बहिष्कार गर्न सर्वसाधारणमा अपील गरेका छन् ।
मिश्रले विभिन्न पाँच तर्कहरु प्रस्तुत गर्दै यस्तो अपील गरेका हुन् । । राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्ने बताउँदै उनले गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको देशको नभएको मिश्रको आरोप छ ।
राष्ट्रपति पौडेलले दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई कैद माफी गरीदिएको बताउँदै उनले ती जघन्य अपराधीको मात्र हैन, सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको मिश्रले बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्- ‘अब त झन् सबै पार्टीले जटील समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ ।’
मिश्रले राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई वहिष्कार गरेर राष्ट्रपतिलाई ‘पाप-कर्म’ को नैतिक सजाय दिन र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिन आग्रह गरेका छन् ।




















