काठमाडौं । सरकारले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न स्वीकृति दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।
बैठकले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गरी सो समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अख्तियारी दिएको छ भने नेपाल र कतारबीच हुने सञ्चारसम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको शर्माले जानकारी दिएकी छिन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । । चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको प्रवक्ता शर्माले बताएका छन् ।



















