काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएपछि नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एनआरएनको विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताउनुभयो ।
उहाँले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा योगदान गर्न विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भूल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गर्नुभयो ।
नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उहाँले एनआरएनएलाई अनुरोध गर्नुभयो ।
राष्ट्रपति पौडेलले आजको चुनौती कसरी जैविक विविधतालाई सुरक्षित राख्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै यी क्षेत्रमा पनि गैर आवासीय नेपालीले आफ्नो योगदान कसरी पुर्याउन सक्छ त्यो मेरो पनि चासोको विषय भएको बताए । उनले नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि एनआरएनएको ध्यान आकर्षित गराउनुभयो ।
राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले एनआरएनएको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनुको साथै नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेमा उनको विश्वास छ । उहाँले नेपालको विकास र समृद्धिको बाटोमा एनआरएनएको रणनीतिक साझेदारीलाई थप स्पष्ट र विस्तारित गराउन सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)




















